श्रम सम्झौतालाई पुनरावलोकन गर्नेबारे नेपाल र कतार बीच सहमति
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८५ पटक पढिएको
नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्नेबारे सहमति भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठकमा शुक्रबार उक्त सहमति भएको हो ।
दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो । यसका लागि बिहीबार कतारको श्रम अधिकारीहरुको टोली नेपाल आएका थिए ।
त्यसैगरी कतारमा नेपालबाट घरेलु श्रमिकका रुपमा जानेहरुको सुरक्षा, कृषि श्रमिकलाई थप अवसर दिने, कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति पनि भएको छ ।
साथै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनर्स्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।
नेपालका तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनु बज्राचार्य कुँवरले वार्ता टोलीको नेतृत्व गरेकी थिइन् भने कतारका तर्फबाट कतारको श्रम मन्त्रालयका उपसचिव महोम्मद हसन अल ओबादीले गरेका थिए । बैठकमा दुबैतर्फबाट ७ एजेन्डा तय भएका छन् । यसपटकको बैठकमा कतारसँग पीडित श्रमिकलाई स्वदेश फर्किएपछि पुनःएकीकरण गराउने गरी योजना तथा कार्यक्रम बनाउनेबारे छलफल भएको बताईएको छ ।
कतारले २०७४ भदौ ६ गते नै घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानून जारी गरिसकेको छ । २०७५को फागुनको अन्तिम साता कतारसँग वार्ता गर्न सहसचिवस्तरको टोली कतार पुगेको थियो । वार्तामा नेपालले न्यूनतम तलब बढनुपर्ने, श्रमिक आपूर्तिका सबै प्रक्रियाका शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने, कामदारको बसोबास तथा सुरक्षाको उचित प्रबन्ध हुनुपर्नेलगायतका मुद्दा राखेका थिए । कतारमा हाल झन्डै ५० हजार नेपाली पुरुष घरेलु श्रमिक कार्यरत छन् ।