पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानून गैर-इस्लामिक
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०८ पटक पढिएको
पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाएको छ । इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर-इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक पारित हुनुपूर्वनै सम्बन्धित दफा हटाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।
त्यहाँको कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी छिन् । ‘संविधानको धारा २२७ ले समेत हरेक कानून शरिया र पवित्र कुरानअनुसार हुनुपर्ने प्रत्याभूत गरेको छ’, इस्लामावादमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोखारीले भनिन्, ‘तसर्थ, हामीले यी (इस्लामिक) मूल्य-मान्यताविपरीत हुने कुनै पनि कानुन पारित गर्न सक्दैनौं ।’
कानून मन्त्रीको मार्गदर्शनबमोजिम एउटा सरकारी समितिले विस्तृत छलफल गरेपछि विधेयकबाट केमिकल कास्ट्रेशनसम्बन्धी दफा हटाइएको उनको भनाई छ ।
नागरिकको अधिकारी रक्षा गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि आवश्यक कानून बनाइएको भन्दै बलात्कारसम्बन्धी घटनाको स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा ‘प्रतिबलात्कार सेल’ स्थापना गरिने बोखारीले बताएकी छिन् ।
यसअघि अन्तर्राष्ट्रिय समाचार माध्यमले पाकिस्तानमा बलात्कारीलाई औषधि दिएर आजीवन नपुंसक बनाउने विधेयक पारित भएको जनाएका थिए । बुधबार प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको सरकारले संसदको संयुक्त सत्रबाट झण्डै ३ दर्जन विधेयक हतार-हतार पारित गरेको थियो । यसमध्ये एउटा विधेयक यौन हिंसा तथा बलात्कारसम्बन्धी रहेको छ ।
किन ल्याईएको थियो उक्त कानून ?
गत वर्ष राष्ट्रपतिद्वारा जारी अध्यादेशमार्फत् बलात्कारका घटनासँग जुध्न एक नयाँ कानून ल्याइएको बेला लाहोरमा भएको सामूहिक बलात्कारको एक घटनालाई लिएर तीव्र असन्तुष्टि प्रकट भएको थियो ।
आठ सेप्टेम्बरमा भएको उक्त घटनामा सडकमा अलपत्र परेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना सन्तानसँगै सडकमार्ग हुँदै लाहोर आउने क्रममा पाकिस्तानी मूलकी फ्रेन्च महिलाको कार बिग्रिएको थियो । सडकमा उभिएर सहयोग मागिरहेका बेला उनीमाथि दुई व्यक्तिले हमला र लुटपाट गरी बलात्कार गरेका थिए ।
उक्त घटना बाहिर आएपछि आममानिसमा निकै आक्रोश बढेको थियो । लाहोरका वरिष्ठ प्रहरी अधिकारीले पीडित महिला समेत सामूहिक बलात्कारका लागि एक हदसम्म जिम्मेवार रहेको भनेपछि आक्रोश झन् बढेको थियो । ती प्रहरी अधिकारीले टेलिभिजनमा आएर सोही कुरा दोहोर्याएका थिए । उनले पीडित महिलाले पाकिस्तान पनि फ्रान्स जस्तै सुरक्षित ठानेको हुन सक्ने बताएक थिए ।
उक्त्ता घटना लगत्तै सारा पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो । मानिसहरू सडकमा आएर न्याय र महिलाको थप सुरक्षा हुनुपर्ने माग गरेका थिए । त्यसपछि सरकारले कडा कदम चाल्ने बाचा गर्नु परेको थियो । यही क्रममा गत डिसेम्बरमा अध्यादेशमार्फत् बलात्कारविरोधी नयाँ कानून बनाइयो । सो कानूनमा बलात्कारसम्बन्धी घटनाको चाँडो सुनुवाई गर्दै कडा सजायँ दिने व्यवस्था गरिएको थियो ।
लाहोर बलात्कार काण्ड भएको लगभग एक महिनाभित्रै प्रहरीले दुवै अभियुक्तलाई गिरफ्तार गरेको थियो । पक्राउलगत्तै मुद्दा चलाएर यसै वर्षको मार्चमा दुवै जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका थिए । जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताएका थिए । इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख नगरिएकोले हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ थियो ।