पाकिस्तानमा बलात्कारीलाई ‘नपुसंक’ बनाउने कानून पारित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १९४ पटक पढिएको
पाकिस्तानमा बलात्कारीलाई नपुसंक बनाउने प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको छ । केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने पाकिस्तानको फैसलाले नयाँ विधेयक पारित गरेको बीबीसी हिन्दिले जनाएको छ ।
पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि अब बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने बताएको बीबीसी हिन्दिले छ ।
किन ल्याईयो उक्त कानून ?
गत वर्ष राष्ट्रपतिद्वारा जारी अध्यादेशमार्फत् बलात्कारका घटनासँग जुध्न एक नयाँ कानून ल्याइएको बेला लाहोरमा भएको सामूहिक बलात्कारको एक घटनालाई लिएर तीव्र असन्तुष्टि प्रकट भएको थियो ।
आठ सेप्टेम्बरमा भएको उक्त घटनामा सडकमा अलपत्र परेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना सन्तानसँगै सडकमार्ग हुँदै लाहोर आउने क्रममा पाकिस्तानी मूलकी फ्रेन्च महिलाको कार बिग्रिएको थियो । सडकमा उभिएर सहयोग मागिरहेका बेला उनीमाथि दुई व्यक्तिले हमला र लुटपाट गरी बलात्कार गरेका थिए ।
उक्त घटना बाहिर आएपछि आममानिसमा निकै आक्रोश बढेको थियो । लाहोरका वरिष्ठ प्रहरी अधिकारीले पीडित महिला समेत सामूहिक बलात्कारका लागि एक हदसम्म जिम्मेवार रहेको भनेपछि आक्रोश झन् बढेको थियो । ती प्रहरी अधिकारीले टेलिभिजनमा आएर सोही कुरा दोहोर्याएका थिए । उनले पीडित महिलाले पाकिस्तान पनि फ्रान्स जस्तै सुरक्षित ठानेको हुन सक्ने बताएक थिए ।
उक्त्ता घटना लगत्तै सारा पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो । मानिसहरू सडकमा आएर न्याय र महिलाको थप सुरक्षा हुनुपर्ने माग गरेका थिए । त्यसपछि सरकारले कडा कदम चाल्ने बाचा गर्नु परेको थियो । यही क्रममा गत डिसेम्बरमा अध्यादेशमार्फत् बलात्कारविरोधी नयाँ कानून बनाइयो । सो कानूनमा बलात्कारसम्बन्धी घटनाको चाँडो सुनुवाई गर्दै कडा सजायँ दिने व्यवस्था गरिएको थियो ।
लाहोर बलात्कार काण्ड भएको लगभग एक महिनाभित्रै प्रहरीले दुवै अभियुक्तलाई गिरफ्तार गरेको थियो । पक्राउलगत्तै मुद्दा चलाएर यसै वर्षको मार्चमा दुवै जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
के हो केमिकल कास्ट्रेशन ?
‘केमिकल कास्ट्रेशन (रासायनिक नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ’ विधेयकमा भनिएको छ, ‘यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ र सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’
केमिकल कास्ट्रेशन जसअन्तर्गत औषधि दिएर कुनै पनि व्यक्तिको यौन शक्ति कम गरिन्छ । यस्तो औषधिले टेस्टोस्टेरोन हर्मोन घटाउँछ ।
विश्वका केही मुलुकमा केमिकल कास्ट्रेशन अर्थात् औषधि दिएर नपुंसक बनाउने प्रावधान छ । सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्ने व्यक्तिलाई औषधि दिएर नपुंसक बनाउने कानून लागू गरेको थियो । त्यस्तै, सन् २००९ मा पोल्याण्डले पनि बालबालिकालाई बलात्कार गर्ने व्यक्तिका लागि केमिकल कास्ट्रेशन अनिवार्य बनाएको थियो । मिडिया रिपोर्टअनुसार दक्षिण कोरिया र चेक गणतन्त्रका अलावा अमेरिकाका केही राज्यमा पनि यस्तै कानून लागू गरिएको बीबीसीले उल्लेख गरेको छ ।
कानून विरुद्द विरोध
तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् । जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताएका छन् । इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख नगरिएकोले हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ ।
पाकिस्तानमा पछिल्ला वर्षमा यौन हिंसाका घटनाविरुद्ध कडा कदम चाल्नु पर्ने आवाज बढिरहेको छ । त्यहाँ यौन आक्रमणका घटनाका दोषीमध्ये ४ प्रतिशतभन्दा कमले मात्रै सजायँ पाउने गरेको आलोचकहरू बताउँछन् ।
तस्बिर : गेटी इमेज