प्रधानन्यायाधिश जबराको वार्ता प्रस्ताव अस्वीकार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७७ पटक पढिएको

 

आन्दोलित कानून व्ययासयीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको वार्ता प्रस्ताव अस्वीकार गरेका छन् । बार र सर्वोच्च बार दुबैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएका हुन् । 

आज अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र वार्ता गर्ने बताएका छन् । 

प्रधानन्यायाधीशको आहृवानबारे वक्तव्यमार्फत जवाफ दिने भन्दै उनले भने, ‘उहाँसँग हामीले वार्ता गर्ने प्रश्नै उठ्दैन । हामीले वार्ता भनेको उहाँको राजीनामापछि आउने नेतृत्वसँग हो ।’

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन केहि साता देखि आन्दोलनरत छन् । कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गरिरहेका छन्।  यस अघि दुई पटक त प्रधानन्यायाधिश वैकल्पिक ब्रो प्रयोग गरेर पनि अदालत प्रवेश गरेका छन् । 

लगातारको धर्ना पश्चात प्रधानन्यायाधिश जबराले सोमबार वक्तव्य जारी गर्दै आन्दोलन छाडेर आउन आग्रह गरेका थिए। उनले आफ्नो विज्ञप्तिमा संवादमा आउन आह्वान गरेका हुन् । 

प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका थिए । त्यस्तै कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने उनले उल्लेख गरेका थिए । 

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर धर्ना दिइरहेका छन् ।  तर प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित