सिङ्गापुरमा दिन लागिएको मृत्युदण्ड तत्कालका लागि स्थगित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६७ पटक पढिएको

सिङ्गापुरमा लागुऔषध तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड तत्कालका लागि स्थगित गरिएको छ । बाह्र वर्षअघि मलेशियाबाट सानो परिमाणमा हिरोइन तस्करी गर्न खोज्दा पक्राउ परेका नागेन्द्रन धर्मलिङ्गमलाई बुधवार मृत्युदण्ड दिन लागिएको थियो ।
नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीका आधारमा मङ्गलवार पुनरावेदन अदालतले उनको मुद्दा फेरि हेर्न लागेको बीबीसीले जनाएको छ । उनका वकिल एम रविले नागेन्द्रन स्वयं पीडित भएको दाबी गर्दै उनलाई मुक्त गरिनुपर्ने तर्क गरेका छन् । "उनलाई फसाइएको हो। उनी [लागुपदार्थ तस्करी] गिरोहका पीडित हुन् । उनलाई उपचार र सहयोग आवश्यक छ," रविले भने ।
सन् २००९ मा नागेन्द्रन ४३ ग्राम हेरोइनसहित पक्राउ परेका थिए । तिघ्रामा बेरेर उनले उक्त लागुपदार्थ मलेशियाबाट सिङ्गापुर लैजान खोजेका थिए । सिङ्गापुरका अदालतहरूले नागेन्द्रनलाई आफूले के गरेको भन्ने थाहा नभएको भन्दै दोषी ठहर गरेका थिए । परीक्षण गर्दा एक विज्ञ चिकित्सकले उनको आईक्यू ६९ भएको निष्कर्ष निकालेका थिए । त्यति बौद्धिक क्षमतालाई न्यून मानिन्छ र त्यसले बौद्धिक अपाङ्गता भएको सङ्केत गर्छ ।
सिङ्गापुर सरकारले पनि उनले "आफूले गरेको अपराधको प्रकृति राम्ररी बुझेको तथा आफूले गरिरहेको काम राम्रो वा नराम्रो भएको छुट्ट्याउन सक्ने क्षमता नगुमाएको" तर्क गर्ने गरेको छ । सिङ्गापुरमा लागुऔषध तस्करीविरुद्ध कडा कानून छ अनि दोषीलाई मृत्युदण्ड दिइँदा त्यहाँ प्रायः विवाद हुँदैन ।
तर मलेशियाली अधिकारी र मानवाधिकारवादी समूहहरूले नागेन्द्रनको आईक्यू अर्थात् बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न आग्रह गरेका थिए । उनी भारतीय मूलका मलेशियाली नागरिक भएको बताइएको छ।
ती व्यक्तिको बौद्धिक क्षमता कम भएको भन्दै मृत्युदण्ड रोक्न अहिले पनि व्यापक माग भइरहेको छ । साठी हजार जनाभन्दा बढी मानिसले नागेन्द्रनलाई क्षमादान दिन सिङ्गापुरका राष्ट्रपतिसँग आग्रह गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेका बीबीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय मानवाधिकार कानुनले मानसिक अस्वस्थता भएका मानिसलाई मृत्युदण्ड दिन रोक लगाएको तर्क उनीहरूले गरेका छन् ।
तस्बिर : ईपिए