न्युजिल्यान्डमा आज देखि इच्छा मरण कानून लागु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८२ पटक पढिएको

न्युजिल्यान्डमा लामो समयदेखि बहसको विषय बनेको इच्छा मृत्यु रोज्न पाउने कानुन आजदेखि लागु हुने भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो ।
न्युजिल्यान्डको लागि ‘आइतबार’ एक ठूलो परिवर्तनको दिन भएको बताइएको छ । इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । इच्छा मृत्यु प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने सर्त छ । कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन् ।
स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो । सो मुद्दामा बहुमत भए पनि यसलाई संवेदनशील मानिएको छ। बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक-फरक मापदण्ड बनाएका छन् ।
इच्छामृत्यु भनेको निरन्तर पीडा कम गर्नको लागी आत्महत्या गर्नु हो । जसको लागि चिकित्सकको सहयोग तथा परिवारहरुको सहमति चाहिन्छ । यस विषयमा समर्थन जनाउने व्यक्तिहरु इच्छा मृत्यु प्राय धेरै समय नबाच्ने तथा दिर्घरोगिहरुको लागि उपयुक्त हुने तर्क गर्छन् । इच्छामृत्यु लामो समयदेखि विश्वभरनै एक भावनात्मक विवादित विषय बन्दै आएको छ । धेरै देशहरूमा इच्छामृत्यु कानून विरुद्ध मानिन्छ ।