अफगानिस्तानबाट भागेर २९ जना एलजीबिटी समुदायका व्यक्तिहरु बेलायत पुगे

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५७५ पटक पढिएको

 

अफगानिस्तानबाट २९ जना एलजीबिटी समुदायका व्यक्तिहरु बेलायत पुगेका छन् । बेलायत पुगेका एक समलिङ्गी अफगानीले  "मलाई मेरो जीवनमा पहिलो पटक मानव" जस्तो महसुस भएको बताएका छन् । आफ्नो ज्यान बचाउन अफगानिस्तानबाट भागेको उनको भनाई छ ।  

"तालिबानको आगमन पछि सबै ध्वस्त भयो," ती व्यक्तिले बीबीसीलाई भने । "म धेरै निराश थिएँ । म मर्ने दिनहरू गन्दै बस्थे । म आफ्नै घरमा र कोठामा समेत अपरिचित थिएँ ।" सुरक्षाका कारण बताउदै बिबिसीले उक्त व्यक्तिको नाम भने खुलाएको छैन ।  

उनले भनेका छन्  "काबुल ठूलो सहर होइन र तालिबानले देशमा जसरी शासन गरिरहेको छ त्यसले समुदायका अन्य मानिसहरू पनि सजिलै भेट्टाउन सक्छ" । उनले यस अघि पनि पटक पटक भाग्न खोजेको तर आफ्नो प्रयासहरु असफल भएको बताएका छन् । आफूहरू अन्तर्राष्ट्रिय एलजीबिटी संगठनहरूको सहयोगमा मात्रै भाग्न सम्भव भएको उनको भनाई छ । 

इस्लामवादी समूह तालिबानले गत अगस्टमा सत्ता पुन: आफ्नो कब्जामा लिएको थियो । शुक्रबार तालिबानका एक प्रवक्ताले रोयटर्सलाई आफुहरुले समलिङ्गी अधिकारको सम्मान नगर्ने बताएका थिए । त्यस्तै अफगानिस्तानका अर्थमन्त्रीका प्रवक्ता अहमद वली हकमलले इस्लामिक कानूनको ढाँचाभित्र मानव अधिकारको सम्मान गरिने तर समलिङ्गी अधिकारको नगरिने बताएका छन् । प्रवक्ता हकमलले एलजीबिटी आफ्नो कानून विरुद्द भएको पनि बताएका छन्। 

उनीहरुको त्यस्ता भनाई पछी समुदायका धेरै सदस्यहरूले आगामी महिनाहरूमा देश छोड्ने अपेक्षा गरिएको छ । समुदायका अन्य सदस्यहरू पनि देश छोड्न खोजिरहेका बिबिसीले उल्लेख गरेको छ । 

अफगानिस्तानमा अन्तिम पटक तालिबान सत्तामा हुँदा सन् १९९६ देखि २००१ को बीचमा समलिङ्गीहरूलाई ढुङ्गाले हानेर हत्या गरिन्थ्यो । समुदायका सदस्यहरुले २० वर्षदेखि खुलेर बाच्न नसकेको बताएका छन् । उनीहरुले यसलाई नयाँ जीवनको सुरुवात मानेका छन् । बीबीसीले अन्तर्वार्ता लिएका धेरै समलिङ्गीहरुको श्रीमती र बच्चा समेत छन् ।

 

तस्बिर: गार्डियन

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित