प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै प्रदर्शन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१३ पटक पढिएको
कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएशनको अगुवाइमा आइतबार कानून व्यवसायीले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । कानून व्यवसायीले प्रदर्शन गरेपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराको विरोध हुँदै आएको छ। सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बारले उनको राजीनामा माग गर्दै आएका छन् ।
बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो। बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय पनि गरेको थियो । त्यही अनुसार, आज बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो।
त्यस्तै पूर्वनिर्धारित कार्यक्रमअनुसार बारले १६ गते सर्वोच्चको परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।