धनुषामा जनमत पार्टीका कार्यकर्ताको अमानवीय व्यबहार / ६२ जना पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२९ पटक पढिएको
नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । घटनामा पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका अन्य कार्यकर्तालाई समेत पक्राउ गरिएको हो । धनुषा प्रहरीले ६२ जनालाई पक्राउ गरिएको जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना भएको संज्ञा दिदै पक्राउ परेकाहरूलाई कानून बमोजिम कारबाही गरिने बताएका छन्।
राजनीतिक दलको आवरणमा कर्मचारीमाथि अमानवीय दुर्व्यवहार भएको भन्दै कर्मचारी मात्र होइन कुनै पनि व्यक्तिलाई यस्तो दुर्व्यवहार गर्नु कानूनतः अपराध भएको प्रजिअ बास्तोलाको भनाइ छ । प्रजिअ बास्तोलाले आजको घटनाले सबै कार्यालयका कर्मचारीलाई नआत्तिन र नडराउन समेत आग्रह गरेका छन्।
दुई दिन भएको वर्षामा ढलबाट पानीको निकास हुन नसकेपछि जनमत पार्टीका कार्यकर्ताले गुण्डा शैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका कार्यकर्ताले प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट तानेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरूले कुशवाहाको कपडा च्यात्नुका साथै नालाको हिलो दलेर अर्धनग्न बनाएर कुटपिट गर्दै घुमाएको भिडियो हरु सार्वजनिक भइरहेका छन् ।
राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ ले अलगाववादी नारा त्यागेको जनाउँदै २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको थियो । त्यसपछि राउतले जनमत पार्टी गठन गरेका थिए । तर आज उनै राउतका कार्यकर्ताले जनकपुरमा कानून हातमा लिने प्रयास गर्यो। मानव अधिकारकर्मीहरुले यसको बिरोध गरेका छन् ।
तस्वीर : जनमत अनलाइन