भारतमा कोभिड-१९ कारण मृत्यु हुने व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिईने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५६ पटक पढिएको
भारतको सर्वोच्च अदालतले कोभिड-१९ कारण मृत्यु हुने व्यक्तिका नजिकका आफन्तलाई ५० हजार रुपैयाँको क्षतिपूर्ति दिने सरकारी निर्णय सदर गरेको छ । अदालतले नजिकका नातेदारले क्षतिपूर्ति माग आवेदन गरेको ३० दिनभित्र उपलब्ध गराउनुपर्ने आदेश दिदै सो निर्णय सदर गरेको हो । भारतको प्रकोप व्यवस्थापन कानून अन्तर्गत क्षतिपूर्ति माग गर्दै वकिलहरूले सर्वोच्च अदालतबाट आदेश माग गरेका थिए ।
अहिलेसम्म भारतमा ४ लाख ४७ हजार भन्दा बढीको कोभिडबाट मृत्यु भएको औपचारिक तथ्याङ्क भए पनि विज्ञहरू तथ्याङ्कभन्दा दश गुणा बढी सङ्ख्यामा कोभिड संक्रमितको मृत्यु भएको विश्वास गर्छन् । उनीहरूले अत्याधिक मृत्यु भएको भन्ने अनुमान गर्न अघिल्ला केही वर्षको मृत्यु तथ्याङ्कसँग तुलना गरेका थिए ।
सङ्घीय सरकारले क्षतिपूर्ति "कोभिड १९ बाट मृत्यु भएका व्यक्तिका नजिकको नातेदारलाई दिइनेछ" भनेको छ ।
साथै कोभिड १९ का कारण मृत्यु भएको भन्ने प्रमाणपत्र पनि पेश गर्नुपर्ने र यसका लागि आवश्यक रकम राज्यले नै उपलब्ध गराउने बिबिसीले जनाएको छ । कम्तीमा दुई राज्यहरू केरला र राजस्थानले क्षतिपूर्तिले उनीहरूको राज्यको कोषमा चाप पार्नेछ भन्दै सङ्घले नै क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।