सरङ्पाडामा साथी सँगको भेटले छेडेको शैक्षिक तथा भ्रष्टाचारको मुद्दा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४९४ पटक पढिएको

 

सुमन खड्का

नेपालमा कोरोना माहामरीको पहिलो लहर ओरालो लाग्दै थियो । शहरहरू त सुनसान नै थिए तर गाउँघर चलायमान भैसकेको थियो । भदौ अन्तिम तिर खेतीको चटारो सकाएर बस्ने दैनिकी राम्रै चलिरहेको थियो । नजिकिँदै गरेको चाडपर्वको पर्खाइमा दक्षिणपुर्वी झापाको कमल गाउँ पालिकाको पुच्छरमा रहेको मेरो गाउँ मंसिर सम्मका लागि थकाइ मारिरहेको थियो । 

पढाइको सिलसिलामा तीन वर्ष भन्दा लामो समय काठमाडौं बसिरहेको म लकडाउनमा लामो समय गाउँमा बस्दा रमाइलो भयो । सुरुका ३–४ महिना गाउँघरका दुई चार मान्छेको जमघटमै सिमित हुनु परे पनि पत्तै नपाई बितिसकेको थियो । घट्दो संक्रमण सँगै बाहिर हिँड्न पाउने स्वतन्त्रता थपिँदै थियो ।साथीहरू सँगको भेटले खल्लो दिनचर्यामा पनि मिठास थप्दै थियो । 

एकदिन सरङ्पाडा भनिने बजारको चिया पसलमा बसिरहेको थिएँ, त्यतिखेर मैले एक जना खेलाडी साथी भेटेँ । 

उ प्रायजसो फुटबल खेल्न बाहिर नै हुन्थ्यो । ऊ सँगको भेटमा म निकै खुशी थिएँ । तर मेरो खुशी धेरै समय सम्म टिकेन । त्यस पश्चात्को मेरो गाउँ बसाईको अनुभव उतार चढाव भयो । कोरोनाको पहिलो लहर काबुमा आएसँगै अन्ततः झोला बोकेर फेरि काठमाण्डू आउन बाध्य नभएसम्म तीतो नै रहिरह्यो ।

त्यो दिन मेरो त्यो खेलाडी साथीले भनेको थियो, “हामी त आजकल स्कूलको मैदानमा फुटबल खेल्दैनांै । त्यहाँ त मान्छे डुबाउने पानी छ, राँगाहरु आल खेल्छन् र भुराहरु बल्छी लगेर माछा मार्छन् ।” उसको यो कुरा सुन्दा मलाई विश्वासनै लागेन। किनभने जुन मैदानको कुरा उसले गर्दै थियो सो मैदान नरेन्द्र जनता मा. वि.को स्वामित्वमा आउँथ्यो । उक्त विद्यालय आन्तरिक श्रोताका तवरले नै धनी थियो । त्यस मैदानमा प्रादेशिक अनुदान रु. आठ लाख र संसदीय विकास कोषबाट रु. डेढलाख गरी कुल साँढे नौ लाख रुपैयाँ खर्च भएको थियो । संसदीय विकास कोषबाट सांसद महिन्द्रा सुब्बाले दिएका थिए ।

सरङ्पाडा बजारको उत्तर पूर्वमा पर्ने सो मैदान पूर्ण मापदण्ड अनुरुप नभए पनि बर्षा याममा डुब्ने खालको त थिएन । मैले यो कुरा गर्दा सँगै चिया पिउँदै गरेको मेरो सहोदर छिमेकी साथीले हाँस्दै भन्यो, “त्यही भएको एउटा ग्राउण्ड पनि त्यही विद्यालयको नाउँमा हुनु नै त हाम्रो दुर्भाग्य हो । आजकल त खेल्न पनि पाँचगाछी जानुपर्छ, जान आउन नै समय लाग्ने भएकाले हप्ताको दुई तीन दिनमात्र जाने गरेका छौं ।”

त्यो भेट टुंगाउँदा हामीले खेलमैदानका लागि सरोकारवालाहरु सँग पहल गर्ने निर्णय गर्यौं र त्यसकालागी साँझ ५ बजे तिर आफू वरपरका साथीहरुलाई पनि खबर गर्न थाल्यौं । साँझ हामी करिब बीस जनाको हाराहारीमा भेला भयौं । सरङ्पाडा आसपासका अधिकांश २२ देखि २८ बर्षका केही युवाहरु भेला भयौं ।

उक्त भेलामा हामीले त्यस विद्यालय र उक्त खेलमैदानको बारेमा मुद्दा उठायौं । विद्यालयको नाम नरेन्द्र जनता मा.वि. । त्यो त, त्यसमा हालचालै मौलाएको भ्रष्टाचार र अपारदर्शीताको एउटा सानो प्रतिबिम्ब मात्र थियो । त्यसैले यी कुराको संगठित तवरले बिरोध गर्नु अति आवश्यक भएको थियो । हामीले विद्यालय र खेलमैदानसँग सम्बन्धित आर्थिक विवरण माग गर्ने निष्कर्ष निकाल्यौं । कमल १, सरङ्पाडा संघर्ष समिति नाम गरेको फेसबुक पेज बनाउने र तत्पश्चात् माछाखाडी बनेको खेलमैदानको भिडियो बनाएर अपलोड गर्ने निर्णय गर्यौं । 

त्यसको भोलिपल्टनै हामी बिहान संघर्ष समिति बनाउन सफल पनि भयौं । दुई वटा ज्ञापनपत्र समेत बनाउन भ्यायांै । खेलमैदान बारे बिस्तृत बिवरण पाउन उक्त विद्यालयका प्रधानाध्यापक र कमल गाउँपालिका वडा नं १ का वडा अध्यक्षसमक्ष पेश गर्नु थियो । संघर्ष समितिको काम विद्यालयको पारदर्शीता र खेलमैदानको स्तरोन्नति भए पनि त्यहाँ पुग्न पहिला स्थानीय जनतालाई जागरुक गर्न आवश्यक थियो । उनीहरुलाई विद्यालयमा हुने गरेका बिकृतिको स–प्रमाण जानकारी दिनुथियो । 

हामीले सर्वप्रथम विद्यालयमा सार्वजनिक सुनुवाई अपरिहार्य ठान्यौं । शैक्षिक संस्थामा आउने सरकारी लगानी पारदर्शी ढंगले खर्च गरिनुपर्छ भन्दै हामीले सार्वजनिक सुनुवाईको माग गर्यौं । सार्वजनिक सुनुवाई, सामाजिक उत्तरदायित्व स्थापना गर्न कानूनी तवरले अनिवार्य गरिएको हरेक स्थानीय सरकारी संस्था वा कार्यलयमा गरिने जनता र सरोकारवाला बीचको अन्तरकृया हो । यी सम्पूर्ण कारणले गर्दा हामी आधिकारिक सूचनाको निकै नजिक नै छौं भनेरविश्वस्थ थियौं । 

त्यस पछि विद्यालयको आर्थिक विवरण प्राप्त गर्न निवेदन पनि दियौं । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बमोजिम विद्यालयलाई अनिवार्य भनिएका कार्य गरेको वा नगरेको विभिन्न शीर्षकमा आउने अनुदानको खर्च बारे बिस्तृत विवरणको लागि निवेदन पनि तयार थियो ।

लामो समय बित्यो । विद्यालयका सबै बिकृतिको रहस्य उजागर गरेतापनि सार्वजनिक सुनुवाईको भने हामी त्यति नै टाढा थियौं, जति हामी संघर्ष समितिको स्थापना गर्दा थियौं । यस्तै रस्साकस्सी चलिरहने हो भने अझै कति समय लाग्ने हो खै? स्थानीय सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु जनताहरुसँग सार्वजनिक सम्पत्तिबारे भेला आयोजना गरि कुरा गर्न आफ्नो बुताले भ्याएसम्म आलटाल गर्नु सही हो ?

संघर्ष समिति बिना अवरोध स्थापना पश्चात् हामी करिब पैंतालीस÷पचास जनाको टोली बनिसकेको थियो । हाम्रो टोलीले बजार हँुदै खेलमैदान तिर लाग्यो र भिडियो पनि खिच्यो । संयोग बस वडा अध्यक्षको त्यस समय हाम्रै गाउँमा काम परेको रहेछ । युवाहरूको जमात मैदान तर्फ जाँदै छ भन्ने थाहा पाएर उनी मैदानमै आइपुगे । हामीले खेल मैदानको ज्ञापनपत्र उनलाई बुझाउँदै केही प्रश्न पनि सोध्यौं । तर उनले आर्थिक विवरण आफुसँग माग्नुको कुनै औचित्य नभएको जिकिर गरे । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले यस्तो कुरा गरिरहँदा हामी दुई पक्षबीच ठुलै चर्काचर्की पर्यो। उक्त विवाद हाम्रो एक सदस्यले खिचेको कुरा पत्तो पाएपछी हामीले खेलमैदानको बस्तु स्थिती समेत आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अपलोड गर्यौं । 

भोलिपल्ट खेलमैदान र विद्यालयको आर्थिक विवरण माग्ने उद्देश्यले हामीले सो सम्बन्धी निवेदन नरेन्द्र जनता मा वि.का प्रधानाध्यापक समक्ष पेश गर्यौं । विद्यालय सम्बन्धी विवरण माग्ने निवेदनमा १३ विस्तृत बँुदाहरु थिए जसमा सार्वजनिक सुनुवाई मुख्य एजेण्डा राखिएको थियो । हामीले १५ दिन सम्ममा सम्पूर्ण विवरण चाहिने माग राख्यौं । 

त्यसपछी संविधान दिवसको दिन संघर्ष समितिले आफ्नो पहिलो औपचारिक कार्यक्रम सरङ्पाडा बजार सरसफाई, सामाजिक व्यक्तित्वहरुको मन्तव्य र दीप प्रज्ज्वलन कार्यक्रमको तयारीमा जुट्न थाल्यौं ।

संविधान दिवसको दिनको कार्यक्रम भव्यताका साथ सकेको १५ दिन पछि विद्यालयमा खेलमैदानकोप्रादेशिक योजनाबाट आएको रु आठ लाखको खर्चको सक्कली विवरण हामीले अध्ययन गर्न पायांै । 

साथै विद्यालय सँग सम्बन्धित अन्य विवरणको पनि माग राख्यौं । उक्त विद्यालयको २ आर्थिक बर्ष अर्थात् आर्थिक बर्ष ०७५÷०७६ र ०७६÷०७७ को लेखापरीक्षण पनि गरिएको रहेनछ । सामाजिक परिक्षण गरिएको भएतापनि विवरण पाउने थियौं ।  तर गतिरोधको ठूलो भुमरीमा फसेको थियो विद्यालय । “तीन चार दिनमा सरोकारवालाहरु सँग स्थानीय जनता सहित सार्वजनिक सुनुवाई गराउँछु” भन्ने प्रधानाध्यापकको आश्वासन पश्चात् हामी २÷४ ओटा खेलमैदानका बिलको फोटोकपी लिएर बाहिर निस्कयौं । 

बिल अनुसार सिमेण्टको बिलमा २०० इकाई, २ टिपर बालुवा र २ टिपर गिट्टीको काम गरिएको थियो । पन्ध्र हजार ईंटा, ७५६ के.जी रड र अरु २÷३ बिलहरु थिए जसलाई सार्वजनिक गरेपछी संघर्ष समितिमा भने विद्रोहको सानो झिल्को उठ्यो । खेलमैदानसँग सम्बन्धित प्रमाण हाम्रो हात लागेसँगै विद्यालयमा व्याप्त अन्य विकृतिहरु पनि हामी अगाडि आउन थाले । तर सार्वजनिक सुनुवाई त परको कुरा हामीले पेश गरेका १३ बुँदाहरुको बिषयमा छलफल समेत भएको रहेनछ । 

त्यस्तैमा एक दिन मिटिङ छ भन्ने चाल पाएपछी हामीले त्यही दिनलाई अनौपचारिक भएपनी सार्वजनिक सुनुवाई बनाउने निधो गर्यौं । अनि हाम्रा सबै शुभचिन्तक र सदस्यहरुलाई भेलाहुन सुचित गर्यौं । खै कुन्नी किन हो विद्यालयका सरोकारवालाहरुको भेला त स्थगित भएछ । त्यो दिन पेपर ल्याएर पोस्टर बनायौं र स्पिकर ल्याएरभ्रष्टाचार बन्द गर !! भन्दै नारा जोर जोरले लगायौं । त्यसको फल स्वरुप दिउँसो तिर सरोकारवालाहरुसँग हाम्रो सार्वजनिक भेला राखियो  ।

विद्यालयमा भएको त्यो भेलामा विद्यार्थीहरु, अभिभावकहरु, भूतपुर्व विद्यार्थीहरु गरि करिब ३०० जना थिए ।सबैका आफ्ना आफ्नै गुनासा । विद्यालयले लगाएको पुराणको पैसाको के भयो? कलेज किन बेचियो? सरोकारवालाहरुसँग यी प्रश्नका उचित उत्तर थिएनन् । 

खेलमैदानको स्तरोन्नतिका लागि माग गर्दा तत्काल खेल्नयोग्य बनाउन १ लाख बिनियोजन गरियो । विद्यालयको सम्बन्धमा पहिला तत्काल सामाजिक परिक्षण गर्ने र त्यसपश्चात लेखापरीक्षण गर्ने सहमती भयो । तर हरेक कुरामा ढिलासुस्ती जारीनै रह्यो । र अनेकौं कार्यलय धाइरहनु पर्यो । कमल गाउपालिका वडा नं १ का अन्य विकृतिहरुको मानिसमा कानेखुसी चलिरह्यो “कतै कुरा उठ्छ कि”भन्ठानेर !

दोश्रो रिपोर्ट सिरिजमा स्कूलमा भएका भ्रष्टाचारका थप आधिकारिक तथ्यांक सहित पेश गर्नेछौं । 

थप जानकारीको लागि :

कमल १ सरङ्पाडा संघर्ष समिति |

""

 

""

 

""

 

""

 

""

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित