अवरोधबीच ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३२ पटक पढिएको

 

राष्ट्रियसभाले सांसदहरुको अवरोधबीच ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बाट सन्देश सहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।   

के हो त लोकसेवा आयोग ?

लोकसेवा आयोग वि.सं. २००८ साल असार १ गते स्थापना भएको एउटा संवैधानिक अंग हो । जुन  प्रजातन्त्रको उदय सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले भएको थियो । नेपालको संविधानको भाग २३ मा यस सम्बन्धी व्यवस्था गरिएको छ । संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । आयोग एक विशिष्टीकृत संवैधानिक निकायको रुपमा पनि परिचित छ ।

आयोगको काम, कर्तव्य र अधिकार

निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्नु र परीक्षा सञ्चालन गर्नु आयोगको कर्तव्य भएको संविधानको धारा २४३ मा उल्लेख छ । उक्त धारामै “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पदलाई बुझिन्छ । त्यस्तै निजामती सेवाको पद होइन भनी ऐन, बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद पर्ने उल्लेख छ ।

त्यस्तै निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य सङ्घीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पनि आयोगको नै हुने प्राबधान छ ।

छनौटको प्रक्रिया

लोक सेवा आयोग ऐन, २०६६ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ :

क) लिखित परीक्षा,

ख) प्रयोगात्मक परीक्षा,

ग) अन्तर्वार्ता र

घ) आयोगले तोकेका अन्य तरीकाहरु ।

उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा रिक्त पदहरुको प्रतिशत निर्धारण देखि विभिन्न चरणमा हुने छनौट प्रकृयाहरुको विवरण समेत उल्लेख हुन्छ ।

विज्ञापन गर्दा खुलातर्फ आन्तरिक प्रतियोगितात्मक परीक्षा हुनेतर्फ २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र दरखास्त व्यवस्थापन केन्द्रबाट विज्ञापित पदको अनलाइन दरखास्त संकलन गरिन्छ । विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित