नेपाली आकाशमा अनुमति बिना भारतीय हेलिकप्टरको उडान

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४३८ पटक पढिएको

भारतीय हेलिकप्टरले बुधवार र बिहीवार नेपाली आकाशमा अनुमति बिना उडान गरेको छ । महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकप्टरले उडान गरेको हो ।

उक्त विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्रालयले त्यसबारे नेपाली निकायहरूसँग थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ । त्यस्तै आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरिएको भएपनि शुक्रवार अपराह्नसम्म कुनै जवाफ प्राप्त नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।

हाल दार्चुलामा बाढी पहिरो पीडितको उद्धार र राहत वितरणको काम भइरहेको र भारतीय हेलिकप्टर उक्त कार्यमा सामेल भएको बुझिए पनि त्यसरी पटक पटक चक्कर मार्नुपर्ने आवश्यक नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले जनाएअनुसार बिहीबार ७ पटकसम्म आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाएको थियो ।

हाल दार्चुलाका जयसिंह धामी बेपत्ता बनाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै संलग्नतमा रहेको प्रतिवेदन सार्वजनिक हुनु र उक्त स्थानमा भारतीय हेलिकप्टर घुम्नुलाई अर्थपूर्ण रुपमा हेरिएको बताईएको छ । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेकोमा स्थानीय हरुले आक्रोश व्यक्त गरेका छन् ।

अर्काको देशको आकाशमा बिना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत मानिन्छ । अझ नेपालको राष्ट्रिय सेनाको ब्यारेक माथिको आकाशमा नै उडान भएपछि कैयौँ विज्ञहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित