मनोविज्ञान, मन र मनोविकृति

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३७१ पटक पढिएको

गराैव अधिकारी

मनोविज्ञान

करीब ७०,००० वर्ष पहिले, मानव जातिको एकाएक वर्चस्व स्थापना भयो । हिजोसम्म एकै वनमा सबै जनावरसँग समान परस्पर जीवन बाँचिरहेका मान्छे एक्कासी फुड चेनको ठूलै खुड्किलो पार गर्न सफल भयो । यो किन भयो त भन्ने टड्कारो प्रश्न हाम्रो सामुन्ने उभिएको छ ? तर यो प्रश्नको उत्तर चाहिँ, मानव मस्तिष्क को एकाएक स्तरोन्नतिसँग सिधै जोडिएको छ । मानिसले दिमागलाई धेरै कार्यमा संलग्न गराएको हुँदा शायद उसको मस्तिष्कको आयतनमा वृद्धि भएको हुन सक्छ ।

मानवले मूर्ति बनाउन थाले, अनौठो भाषामा आफ्ना सँग नौला बात गर्न थाले, कथा बुन्न थाले, कुरा बुझ्न थाले, बुझाउन थाले । अद्भुत विकास मानवमा भयो । मानव अब त्यो हेजोको जङ्गली मान्छे कहिल्यै रहेन । यो नवीन मान्छेले पछाडि फर्केर हेर्नै परेन र धेरै समय हेरेन पनि, हेर्दैन पनि । समयको चालसँगै, मानव सभ्यताले अकल्पनीय उपलब्धि हसिल गर्दै गयो । समाज देखी शास्त्रसम्म, दर्शन देखी दिक्षासम्म, अक्ष देखी अन्तरीक्षसम्म; मानवले आफ्नो सर्वश्रेष्ता पुष्टि गर्न कहीँ चुकेन ।

यत्तिका उपलब्धिको थाकमुनि लुकेको त्यो रहस्यमयी प्रश्नको उत्तरको केही अंश भने हामी मनोविज्ञानमा पाउन सक्छौं । आखिर के हो यो मनोविज्ञान जसले यो रहस्य उद्घाटन गरने सामर्थ्य राख्छ?

दुई शब्द “मनो” र “विज्ञान” को समासले बनेको यस ढिक्को शब्दको अर्थ मनको विज्ञान हुन जान्छ । अंग्रेजीमा मनोविज्ञान साइकोलोजी (Psychology) भैदिन्छ । दुई ग्रीक शब्द, साइकि(psyche) र लोगस (logus) ले बनेको साइकोलोजीको अर्थ पनि "मनको अध्ययन वा विज्ञान" हो । शाब्दिक अर्थकै सेरोफेरोमा घुम्छन् मनोविज्ञानका प्रचालित व्याख्याहरू ।

अरस्तु देखी फ्राएड सम्म आउँदा थुप्रै परिभाषामा परिमार्जित हुँदै आएता पनि, मानव मस्तिष्क र यसको व्यवहारकै परिवेशमा मनोविज्ञानको क्षितिज अटाएको देखिन्छ । पुराना सङ्कलित सम्झनाहरुले मनलाई निर्देशित गर्ने सार निकालेका अरस्तुलाई १९ औं शताब्दीका फ्राएडले मानव मस्तिष्को तीन तह हुन्छन् भनेर सादृश्य गरे । चेतन मन, अवचेतन मन र अचेत मनले बनेको मानव मन(मस्तिष्क), सँधै अचेत र अवचेतन मनको दासी रहने कुरा फ्राएड गर्छन् । फ्राएडलाई चुनौती दिँदै वाट्सन मानवीय व्यवहार नै मानवलाई बुझ्ने असल माध्यम हुने, भन्ने सिद्धान्त लिएर २० औं शताब्दीमा देखा पर्छन् ​। यसै लयमा विकासवादी मनोविज्ञान पनि शताब्दीको अन्त्यमा प्राकशमा आउँछ । २१ औं शताब्दी टेकिसक्दा मनोविज्ञानले सांस्कृतिक भिन्नता र मानवतावादी नवीन बिधा पनि आफ्नो धारमा संलग्न गरेको छ । यसरी मानव मनमस्तिष्कको रहस्य उद्घाटन गर्न चुनिएको विधा मानव मस्तिष्कको अध्ययन, यसका प्रकायहरु र मानव व्यवहार भित्र आफ्नो परिभाषा खोजीरहेको छ ।

यता पूर्वीय मनोविज्ञान भने करीब ५००० देखि ७००० वर्ष पुरानो हो भन्ने अध्ययनले बताउँछ । पूर्वीय दर्शनबाट प्रेरित यो विधा, मानव मनको सदैव अधीनमा भ​एको कुरामा बेसी जोड दिन्छ​ । मनको शान्तिको निम्ति समग्र मन मस्तिष्कको शुद्धता र परमात्मा सँगको संगमनै सर्वश्रेष्ठ उपाय हो भन्ने सिद्धान्त यहाँ हावी भ​एको देखिन्छ । श्री कृष्ण र गौतम बुद्धलाई सर्वोच्च मनोविद्, र गीता अनि बुद्धको शिक्षणलाई उत्कृष्ट मनोवैज्ञानिक विश्लेषण भन्ने कुरामा पुरै संसार एकै छत मुनि अटाएको छ । प्रशिद्ध विश्वविद्यालय एम्.आई.टी ईण्डीयामा पनि "वैदिक साईकोलोजी" भन्ने विषयमा स्नातकोत्तर आध्ययन गराउन थालिएको छ । एशियन साइकोलजी भनेर बृहत् बिधामा पूर्वीय मनोविज्ञानलाई विश्वभर अध्ययन अनुसन्धान पनि भैई रहेको छ ।

मन

मन, अंग्रेजीमा ‘Psyche’, एक ग्रीक श्ब्द हो । भित्री गहीरो विचार, मानव वा समूहको विश्वासलाई क्याम्ब्रिज शब्दकोशले मन भनेर परिभाषित गरेको छ । मानव मानसिकता र मान्छेको दृष्टिकोणलाई आकार दिने व्यक्तिगत धारणा नै मन हो भन्ने कुरा अक्स्फोर्ड शब्दकोशले गर्दछ । यता अमेरिकी मनोवैज्ञानिक समाज (ए पि सी) भने मनलाई मानव मनमस्तिष्कको समग्रता, जुन कुनै भौतिक जीव भन्दा भिन्न हो भन्न रुचाउँछ । इतिहास हेर्दा फ्राएडले पहिलो पल्ट "साइकि" शब्दको प्रयोग गरेको देखिन्छ​ । उनले दिएको मनको निर्माण र यसको परिभाषामा थुप्रै मनोविद्हरुले समर्थन देखाएका छ्न् ।

मानव मन तीन तहमा विभाजित भ​एको, र यिनै खण्डले मानिसकताको निर्माण र चलायमान गर्ने सिद्धान्त फ्राएडले विश्वसामु ल्याएका हुन्, जुन अहिलेको समकालिन मनोविश्लेषणको पनि मूल हो । फ्राएड सँगै अर्का महान् मनोविद् ‘कार्ल गुस्ताभ योङ’, जो विभिन्न धर्म र सभ्यताको ज्ञता पनि थिए; ‘मन’ लाई सम्पूर्ण मनोवैज्ञानिक क्रिया, अवचेतन र अचेत मन दुवैको केन्द्रविन्दु हो भन्ने विश्वास राख्थे ।

मानव मनमस्तिष्कलाई सजिलै सँग बुझ्ने हो भने हामीले मनका तीन तहलाई बुझन जरुरी हुन्छ ​। अचेत मन, जहिल्यै गुप्त रहन्छ​, सम्पुर्ण मानव ईच्छा, चहाना र आवेगको खानी हो । सतही रुपमा नदेखिने र मनको गोप्य तहमा अवस्थित यस मनले प्राय मानवीय कार्यलाई निर्देषित गर्छ ​। जन्म र मृत्युको प्रवित्तिको पक्ष पनि यसमा आटाउँछ​। अचेत मनलाई बुझ्न चेतन मनको आँखा अपरिहार्य हुन्छ । मनोविश्लेषणका पिता फ्राएड अचेत मनको दैनिक प्रभाव बारे तत्कालिन मनोविद् भन्दा अलिक बढी जिज्ञासु देखिन्छन् । "लापुस लिङ्गे" अध्ययनबाट फ्राएड हाम्रो दैनिक जीवनमा अचेत मनको दखल बारेमा प्रकाश पार्छन् । लापुस लिङ्गेलाई बोली विकार अथवा भाषण त्रुटि पनि भनिन्छ ​। जब हामी एउटा कुरा भन्न चहान्छौं र आखिरमा अर्कै कुरा भनिरहेका हुन्छौ त्यो बेला हामीमा अचेत मनको आक्रमण भ​एको हो भन्ने निष्कर्ष फ्राएड निकाल्छ्न् । यो लेखाईमा पनि उत्तिकै हावी हुने विषय हो । यसलाई फ्रयूडिएन स्लिप पनि भनिन्छ ​। बोलीमा मात्रै हैन हाम्रो स्मृतिमा पनि फ्रयूडिएन स्लिप उत्तिकै लागु हुने कुरा फ्राएडले आफ्नो किताब ‘द साइकोप्याथोलोजि अफ एभरी डे लाईफमा’ गरेका छन् ।

अचेत मनको चहाना र इच्छाको परिणात्मक इकाई चेतन मन हो । कुनै व्यक्तिको मानसिकता चेतन मनको माध्यमबाट बाहिरी संसारमा प्रकारित हुन्छ ​। उसको चहाना, विचार​, धारणा , विश्वास, तर्कसंगत क्षमता, सब चेतन मनको कार्य हो । चेतन मन सँधै अवचेतन मनसँग परस्पर रहन्छ । मनवीय दैनिकी सरल सँग चेतनशील ढङ्गमा चलाउने मुख्य भूमिका चेतन मनको रहन्छ ​।

तेस्रो मनको खण्ड अवचेतन मनले, मानवीय चेतनालाई गति दिने काम गर्छ​ । मानवले गरीरहेका कार्यलाई अझै चुस्त बनाउने र मस्तिस्कको भारलाई कम गराउनु अवचेतन मनको मुख्य काम हो । विश्व प्रसिद्ध वैज्ञानिक ‘द पावर अफ सब् कन्शिएस माइडका’ लेखक जोसेप मर्फि अवचेतन मनलाई मानव मनमष्तिस्कको अजर खजाना भन्छन् । मानवको पूर्ण क्षमतामा अवचेतन मनको माध्यमबाट मात्रै पुग्न सकिने कुरा उनले आफ्नो आजीवन अध्ययनको निष्कर्ष भनेका छन् ।

मनोविकृति(मनोरोग)

त्रिकोणीय मनको सङ्गमले बनेको मानव मनले नै मानसिकता, व्यक्तित्व, कुण्ठा, व्यवहार, अहम् जस्ता मानवीय गुणको स्थापना गर्छन् । मनोविकृति भन्नाले यिनै मानवीय गुणमा आएका विकार हुन् । मनोविकृतिका ठोस कारक येही हो भनेर भन्ने स्थितिमा मनोविज्ञान अझै पुगेको छैन, तर एउटा ठूलो मनोवैज्ञानिक जमात मानवीय मनको त्रिमुर्तिको असन्तुलनलाई नै विकृतिको प्रमुख आधार मान्छ​। दिमागी रसायन असन्तुलन, आनुवंशिकता, रोगहरु, चिन्ता आदिले यो असन्तुलन ल्याउने गर्छन् । असामान्य विचार, व्यवहार र सोच जसले मानव चेतनाको स्थिरता भंग गर्छ त्यही मनोविकृति हुने परिभाषा मनोविश्लेषकहरूको छ । अमेरिकी मनोवैज्ञानिक समाज (ए.पि.सी) ले डि.एस.म​-५ भनेर मौजूदा मनोरोगको सूची तयार परेको छ​, जसको आधारमा कोही मनोविकारको शिकार भएको नभएको, र भ​एमा कसरी पहिचान र उन्मुलन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अंतर्दृष्टि दिन्छ​ ।

मनोरोग आफैमा निकै संवेदनशील विषय हो​ । दैनिकी नै कठीन पार्न सक्ने यो विकारबाट चाँडो भन्दा चाँडो निवारण पाउनु एकदम जरुरी हुन्छ ​। मनोरोग अरु रोगहरुझैं हुन र यसको उपचार पनि सम्भव छ । दक्ष मनोविद् सँग परामर्श लिए यसलाई सजिल्यै निको पार्न सकिन्छ । यदि यसको उपचार नगरे, केही मनोवैज्ञानिक समस्याहरुले शैक्षिक, कानूनी, सामाजिक र यौन समस्याहरुको नेतृत्व गर्न सक्छ । रक्सी विषाक्तता, लागूपदार्थ को अधीक मात्रा, आत्महत्या, र हिंसात्मक व्यवहार पनि अन्य सम्भावित जटिलताहरु हुन् । मनोविकृतिका बारेमा फैलाईएका भ्रामक हल्लाहरुलाई सबैले आ-आफ्नो ठाउँबाट चिर्न आवश्यक छ । मनोरोग कुनै पाप हैन र सबै मनका रोग पागलपन हैन भन्ने कुरा हामी सबैले बुझ्न जरुरी हुन्छ । हालै आएको महामारीले सबैको मनोदशामा असर पारीरहेको छ । अस्थिर्ता, चञ्चलपन, चिन्ता, अवसाद, खानकिमा आएका विकार जस्ता मनोरोग प्राय मान्छेमा कोभिड महामारी पछि देख्न थालिएको छ । विश्व स्वास्थ्य संगठनले करीब २० देखि २५ % मान्छे महामारीको समयमा मनोरोगको शिकार हुने प्रक्षेपण गरेको थियो । नेपालमा पनि यो समयमा आत्महत्या गर्नेको संख्या प्रत्येक एक लाखमा ३.७ देखि बढेर २४.९ सम्म पुगेको तथ्यांकले देखाउँछ ​। र यो अझै बढ्ने क्रममा छ​ ।

महामारीले हाम्रो मानसिक स्वास्थ्यको महत्व र यसको चुस्तता बारे सबैमा एउटा जागरण ल्याएको देखिन्छ । सबैले यो विषयप्रति पछिल्लो समय निकै चासो लिएको देखियो र यो आवश्यक पनि छ । आफुलाई कुनै मानसिक समस्या छ भने खुलेर भन्नु आवश्यक हुन्छ​ । कति समस्या त बोलेरै समाधान पनि हुन्छ ​। समस्या जटील हुँदै गए, विज्ञसँग परामर्श लिन पनि हिचकिचाउन हुन्न ​। मानसिक स्वास्थ्य सबै भन्दा ठुलो धन हो भन्ने धारणा सबैमा जाग्रित हुन जरूरी छ । यदि आफुमा कुनै पनि मानसिक समस्या छ भने निम्न साईटबाट सहयोग लिन सक्नुहन्छ​।

https://www.cmcnepal.org.np

https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC4331482/

स्वस्थ रहौं, सुखी रहौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित