इरानले दशौं हजार अफगानी शरणार्थीहरुलाई फिर्ता पठायो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६८ पटक पढिएको

 

इरानी अधिकारीहरूले दुर्व्यवहार गरेको आरोप आइरहेको बेला इरानले दशौं हजार अफगानी शरणार्थीलाई फिर्ता पठाएको छ । आप्रवासन अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले यो वर्ष मात्र १० लाखभन्दा बढी अफगानीलाई फिर्ता पठाएको जनाएको छ । आईओएमले हाल सम्म १० लाख ३१ हजार ७५७ अफगानीलाई आफ्नो देश फर्काएको जनाएको हो । 

संयुक्त राष्ट्र आप्रवास एजेन्सीले ती मध्ये कम्तिमा ३२ सय बेवारिसे बालबालिका भएको जनाएको छ । अक्टोबरको अन्तिम सातामा मात्र २८ हजार भन्दा बढी अफगानहरू फिर्ता भएको अल्जजिराले उल्लेख गरेको छ ।

फर्किएका अफगानी नागरिकहरूले आफूहरुलाई धेरै फोहोर र भीडभाड शिविरमा राखिएको बताएका छन् ।  एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उनीहरुले केहीलाई सीमा पार गर्न लगाइनुअघि कुटपिट गरिएको समेत बताएका छन् । 

इरानमा निर्वासित हुनुअघि निर्माण कार्यमा काम गरिरहेका १९ वर्षीय अब्दुल समदले भने, ”उनीहरूले हामीलाई मानव जस्तो व्यवहार गरेनन्” ।  शिविरमा पैसा तिर्न नसके पछि इरानी अधिकारीहरूले आप्रवासी हिरासतमै  उनलाई कुटपिट गरेको उनको भनाई छ । एएफपीले करिब २० जना अफगानी सँग अन्तर्वार्ता लिएका थिए । जसमा सबैसँग दुर्व्यवहारको कथा थियो ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) ले "अत्याधिक अस्थिर अवस्था" लाई ध्यानमा राख्दै अफगानीहरूलाई जबरजस्ती फिर्ता गर्न रोक्न सबै राष्ट्रहरूलाई अपील गरेको छ । युएनएचसीआरले इरानको सरकारसँग वकालत जारी राखेको समेत जनाएको छ ।

त्यहाँको स्थानीय संचार माध्यम तेहरान टाइम्सका अनुसार इरानका आन्तरिक मन्त्री अहमद वाहिदीले गत महिना अफगानीहरूलाई क्षमता कम भएको भन्दै आफ्नो देश नआउन आह्वान गरेका थिए । उनले सीमामा आएकाहरूलाई दया र सम्मान व्यवहार गरेको पनि बताएका छन् । 

इरानले अफगानिस्तानसँग ९०० किलोमिटर (५६०-माइल) सीमा साझेदारी गरेको छ । विश्वको सबैभन्दा ठूलो शरणार्थी भएको देश मध्ये एक ईरान पनि हो । जसमा विगत ४० वर्षहरूमा अधिकांश अफगानी शरणार्थी छन् ।

यूएनएचसीआरका अनुसार २०२० मा इरानले ३४ लाख भन्दा बढी अफगानीहरूलाई आश्रय दिएको छ ।  जसमा करिब २० लाख अप्रमाणित आप्रवासी र ८ लाख शरणार्थीहरू छन् ।

अगस्टको मध्यमा तालिबानले काबुलमाथि कब्जा गरे पछि लाखौं अफगानीहरू आफ्नो देश छाड्न बाध्य भएका थिए । छिमेकी राष्ट्रहरुमा जानेको संख्या अधिक रहेको थियो । अल्जजिराका अनुसार गम्भीर खडेरीले आधाभन्दा बढी जनसंख्यालाई तीव्र खाद्यान्न अभावको सामना गर्नु परेको जस्तै उनीहरु अरु राष्ट्रमा पुग्दा त्यहाँका संकटलाई थप जटिल बनाएको छ । 

नर्वेजियन शरणार्थी काउन्सिल (एनसीआर) का अनुसार तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेदेखि दैनिक ४ हजार देखि ५ हजार अफगानीहरू इरानमा प्रवेश गर्ने गरेको छ । अब आगामी हिउँदमा त्यो संख्या झन् बढिने  काउन्सिलले अपेक्षा गरेको छ ।

गत महिना मात्र संयुक्त राष्ट्र संघले अफगानिस्तान विश्वको सबैभन्दा खराब मानवीय संकटको छेउमा पुगेको भन्दै  आधा भन्दा बढी देशले तीव्र खाद्य अभावको सामना गरिरहेको जनाएको थियो । 

तस्बिर : एएफपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित