सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५०४ पटक पढिएको
टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउने अभियन्ता र उद्यमीहरु समावेश छन् ।
यस वर्षको सूचीमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर, अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । तालिबान समूहका सहसंस्थापक बरादरलाई ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कमदिने’ व्यक्तिका रुपमा टाइमले व्यख्या गरेको छ ।
पछिल्लो समय तालिबानभित्र विवाद भएको र बारदार मारिएको वा घाइते भएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो। तर बुधबार एक भिडियोमा देखिएका बारदारले आफू अहिले कान्दहार सहरमा सुरक्षित रहेको बताएका छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, सीरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पूनावाला परेका छन् । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि भारतीय राजनीतिमा दबदबा कायम गर्ने नेता मोदी भएको समेत टाईमले जनाएको छ ।
त्यस्तै यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि परेकी छिन् । डब्लूटीओको महानिर्देशक बन्ने उनी पहिलो अफ्रिकी संगै पहिलो महिला पनि हुन् ।
सूचिमाअमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि परेका छन् ।
राजकुमार ह्यारीको दम्पती, टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओ, ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
टाइमले हरेकवर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ ।