विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको अपिल
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१४ पटक पढिएको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति मार्फत कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन अपिल गरेको हो ।

केही दिन अघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट साउथ अफ्रिका तथा एशियाका केही मुलुकहरुमा तीव्र रुपमा फैलिरहेको छ ।
मन्त्रालयले नयाँ भेरियन्ट बढी सङक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने देखिएकोले सचेत र जिम्मेवारी बनी स्वास्थ्यका मापदण्डाहरुको पालना गर्न गराउन विज्ञप्तिमार्फत अनुरोध गरेको छ । कोेभिड–१९ विरुद्धको खोप लगाउन पनि सबैमा अनरोध गरेको छ ।
उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको मन्त्रालयले जनाएको छ । नयाँ देखिएको भेरिएन्टलाई नेपालमा प्रवेश हुन नदिन सरकारले काम गरिरहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरियन्ट ‘अफ कन्सर्न’ भनि घोषणा गरेको छ ।
अति उत्परिवर्तित ओमिक्रोन यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो । ओमिक्रोनलाई "चिन्ताजनक भेरियन्ट" भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ ।