"नाचगान गर्ने रक एंड रोल गर्ने हिसाबले राजनीति चल्दैन, राजनीति गर्न अनुभव चाहिन्छ" : उपमेयर उम्मेदवार श्रेष्ठ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६१७ पटक पढिएको

अहिले देशमा स्थानीय तह निर्वाचनको तरङ्ग जताततै फैलिएको छ । नेपालभर एकै चरणमा हुन लागेको यो निर्वाचनमा राजनीतिक दलका प्रतिनिधि र कतिपय स्वतन्त्र व्यक्तिले धमाधम उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारप्रसारको अभियानमा लागिसकेका छन् । यो निर्वाचनको लागि कुल ८० राजनीतिक दलको निवेदन परेकोमा राष्ट्रिय मान्यता प्राप्त दलसहित ७९ दल दर्ता भएका छन्। विभिन्न नारा, सपना र आश्वासन बोकेर यतिबेला प्रत्यासी जनप्रतिनिधि आम मतदाताको घरदैलोमा पुगिरहेका छन्  ।

यसैबीच वर्ल्ड दैनिकले नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का उपमेयरमा उम्मेदवार दिएका रामेश्वर श्रेष्ठसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ, रामेश्वर श्रेष्ठसँग वर्ल्ड दैनिकका रिपोर्टर सज्जन राज पोख्रेलले गरेको कुराकानी ।

तपाईको राजनीतिक करिअर कसरी सुरु भयो ? कसरी राजनीतिक क्षेत्रमा लाग्नु भयो ?

२०४० साल तिरको कुरा हो ,त्यो बेला चाहिँ सरकारी विद्यालयहरु निजी विद्यालय भन्दा धेरै सक्रिय थिए। म चाहिँ सरकारी विद्यालय सरस्वति निकेतनमा पढेको हुँ। त्यहाँ एक जना मेरो नरेश शाक्य भन्ने साथी थिए। उहाँ सुनकोशी छापाखाना कालीमाटीमा काम गर्नुहुन्थ्यो। उहाँको सङ्गतबाट मैले कार्ल मार्क्सको पुस्तकहरु पढ्न थाले। त्यतिबेला पुस्तकहरु पढेर प्रभावित भएर कम्युनिजम तर्फ़ लागियो। विशेषगरी कार्ल मार्क्सको पुस्तक पढ्न थालेपछि चाहिँ म कम्युनिष्ट भईहाले।

त्यसपछि २०४६ सालतिर भएको आन्दोलनमा म सक्रिय भएर लागेको हो। अनि आन्दोलन सफल भएपश्चात चाहिँ प्रजातान्त्रिक युवा संघ गठन भयो म उक्त युवा संघको अध्यक्ष भए। त्यसपछि राजनीति गर्दै कहिले वडा कमिटिको सचिव कहिले ईलाकाको सचिव कहिले जिल्ला कमिटिको सदस्य हुँदै म एकचोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भए। त्यसपछि प्रधानमन्त्रिको सोख्य सचिव र लगातार निर्वाचित महाधिबेशन प्रतिनिधि ३ चोटी भए। त्यसपश्चात अहिले म पार्टीमै क्रियाशील भईरहेको छु।

पछिल्लो समय तपाईलाई उपमेयरमा उठ्नलाई के कस्ता चिजहरुले महत्वकाङ्गक्षा जाग्यो ?

हाम्रो पार्टी दर्ता भएको ७ महिना भयो। सबै साथी एमाले मै गएका थिए र हाम्रो पार्टीमा थोरै मात्रै साथी थिए। त्यसपछि हामीले सबै नयाँ साथी बनायौ। हामी क्रियाशील भएर अघि बढेको कारण हामीलाई सबैले माया दिनुभयो। यहि मायालाई आत्मसाथ गर्दै केहि गर्छु भनेर चाहिँ उपमेयरमा उठेको हुँ म।

तपाई यति क्रियाशील भएर लाग्नु भएको छ, मेयरकै टिकट दिन पार्टीको हात किन कामेनन् ?

पार्टीले चाहेको भए मेयरकै टिकट दिन्थ्यो होला तर गठबन्धनमा छौ नि त हामी, गठबन्धनले गरेको निर्णय अनुसार मैले उपमेयरको टिकट पाएको हुँ। यो भन्दै गर्दा फेरी उपमेयर पनि नराम्रो पद चाहिँ हैन, किन हैन भन्दा जति पनि बजेटहरु बनाईन्छ त्यसको प्रोजेक्ट बनाउने देखि लिएर कार्यक्रम गर्ने मिति तय, कौरहरु उठाउनेसम्म कार्यमा उपमेयरको ठुलो भूमिका हुन्छ।

कुशल उपमेयर हुनका लागि के कस्ता गुणहरु आवश्यक छन् ?

उपमेयर हुने व्यक्ति नीति नियम तथा कार्य योजना प्रस्तुत गर्न सक्ने हुनपर्छ। अनि अर्को भनेको पालिकामा धेरै कुराहरु न्याय र अन्यायको विषयमा आउने भएकाले सत्यको पक्षमा न्याय गर्न सक्ने हुनपर्छ। त्यसपछि कर सम्बन्धि भरपुर ज्ञान हुन पर्छ। कर कसरी उठाउने ,कति उठाउने ,कुन प्रणालीको उठाउने यी सम्पूर्ण जानकारी हुनपर्छ। विगतमा यिनै कुराहरुमा हाम्रो धेरै कमिकमजोरी भएकाले तिनै कमिकमजोरी सच्याउन चाहन्छौं।

अन्य उपमेयर भन्दा तपाई कसरी पृथक हुनु हुन्छ ? 

ठुलो र सम्भव नहुने कुराहरु धेरैले गर्छन।  हामी योजना बोकेर हिडेका मान्छे हौँ। हाम्रो जनआधार के छ भन्दा , हामीलाई माओवादी, जनमोर्चा, कांग्रेस तथा जसपाको पनि समर्थन छ। जनतासँग भिजेका छौँ हामी, एकैचोटी छलाङ्ग मारेर फ्लिमको हिरो जसरी त आको हैन। हामीसँग योजना छ त्यसकारण यो पदको लागि योग्य छु।

तपाई पटक पटक शुन्यदेखि उठेको र जनतासँग नजिक भएको मान्छे हुनु हुन्छ, यतिखेर चुनाव लागिरहेको बेला जनताको मनोविज्ञान चाहिँ कस्तो छ त ?

अहिले चाहिँ जनताहरुले स्थानीय निकायलाइ बलियो बनाउनु पर्छ भन्ने तर्फ़ लागेका छन्। जनताहरुले हक र अधिकार स्थानीय निकायबाट पाउने भएकाले स्थानीय निकायलाइ बलियो बनाउनु पर्छ भन्ने तर्फ़ लागेका छन्।

 

यदि तपाई उपमेयरमा निर्वाचित हुनु भयो भने तपाईको पहिलो प्राथमिकता चाहिँ के हुन्छ ?

मैले पहिले पनि भनेको छु हाम्रो पार्टीले समाजलाई हित हुने लक्ष्य बोकेर हिडिरहेको छ। हाम्रो मूल आधार भनेको शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बास र कपासको मौलिक हक कायम गर्नु हो। अधिकांश मानिसहरु नेपालमा गरिब भएका कारण यी कुराहरुलाई पहिलो प्राथमिकता राखिएको छ।

 

युवाहरुको राजनीतिमा प्रवेश बालेन देखि लिएर डंगोलसम्म मेयरमा उठेका छन्, यसलाई तपाई कसरी हेर्नुहुन्छ ?

राजनीति विषय भनेको एकैचोटी आएर मिरेकल हुन्छ जस्तो मलाई लागेन। राजनीति गर्नलाई जग हुनपर्छ, अहिले आएका युवाहरु क्षणिक समयका लागि मात्र हो। केहि गर्छु भनेर आएका मानिसहरु त धेरै छन् तर अहिले एक्कासी आउछन् र भेल जसरी नै बगेर पनि जान्छन्। यसो गर्ने त्यसो गर्ने धेरै भन्छन् तर भन्नु र गर्नुमा धेरै फरक हुन्छ। नाचगान गर्ने रक एंड रोल गर्ने हिसाबले राजनीति चल्दैन, राजनीति गर्न अनुभव चाहिन्छ।

अन्त्यमा तपाईलाई भोट हाल्ने भोटरहरुलाई अथवा नगरबासीहरुलाई उपमेयरको उम्मेदवार हुँदै गर्दा के सन्देश दिन चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भन्दा अहिलेको अवस्थामा धेरै अधिकार उपमेयरको हुने भएकाले हामीसँग मजबुत कार्य योजना छ र यदि हामी यो ठाउंमा पुग्यौ भने कार्यन्वयन गरेर देखाउछौँ। साथै फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र स्थापित गर्ने र अहिले फोहोर फाल्ने प्रबिधि हटाउने योजना समेत छ। यिनै योजना हामीसँग भएकाले पक्कै पनि आम जनताले हामीलाई भोट दिनेछन् र हाम्रो जित सुनिश्चित छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित