सामुदायिक विद्यालय र सीटीईभीटीको पाठ्यक्रम समायोजनको तयारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८० पटक पढिएको
एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् ।

सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ । तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीनवर्षे डिप्लोमा कार्यक्रम समेत सञ्चालित भएका छन् ।
यता शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भइरहेको छ । सीटीईभीटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालमा छन् । माध्यमिक तह (९–१२) मा चार सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन्।
यस्तै,५५० भन्दा बढी माविमा सीटीईभीटीको डिप्लोमा कार्यक्रम पठनपाठन भइरहेको छ । शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिकरूपमा तयारी भएको जानकारी दिए । शिक्षा मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षामा सबै स्थानीय तहका विद्यार्थीको सर्वसुलभ पहुँच सुनिश्चित गर्न अध्ययन समिति बनाएको छ ।
समितिले अहिले कार्यान्वयनमा रहेका सामुदायिक माध्यमिकमा सञ्चालित प्राविधिक धार कक्षा ९–१२ र प्राविधिक तथा व्यावसायिक तालिमअन्तर्गत शिक्षालय, सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालित प्रि–डिप्लोमा तथा डिप्लोमा कार्यक्रमको पाठ्यक्रमको विस्तृत अध्ययन गरी बजारको माग समेतलाई मध्यनजर गर्दै पाठ्यक्रम समायोजन तथा परिमार्जन गरी एकीकृत पाठ्यक्रम तयार गरी ३० दिनभित्र पेस गर्ने जिम्मा दिएको छ । न्युज कारखाना