महामारीपछि विश्वभर डेढ अर्ब भन्दा बढि बालबालिका शिक्षाबाट बन्चित : युनिसेफ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४४३ पटक पढिएको
कोभिड–१९ को महामारीपछि विश्वभर विद्यालय तहका डेढ अर्ब भन्दा बढि बालबालिका शिक्षा बाट बन्चित भएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका हुन् ।
त्यस्तै सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका बताइएका छन् । नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथामको बन्दाबन्दीले गर्दा ७४ हप्तासम्म विद्यालय पूर्ण र आंशिकरूपमा बन्द भएका थिए । जुन विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ । महामारीपछि अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाले गर्दा धेरै बालबालिका तथा युवामा डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता अनुभव भएको युनिसेफले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
नियमित र प्रत्यक्षरूपमा विद्यालय सञ्चालन नहुँदा डिजिटल जोखिममा विशेषतः किशोरी पर्ने गरेका जनाएका छन् । एकातिर अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन भने अर्कातिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन् । कोभिड–१९ पछि किशोरी अनलाइनको दुव्र्यवहारमा परेका तथा बालविवाह, बालहिंसाका घटना बाहिरिएका छन् । यसले उनीहरुमा मनोसामाजिक असरसमेत पर्ने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थी अझै विद्यालय बाहिर रहेको विवरण सन् २०२० मा प्रकाशनमा ल्याएको थियो । सो विवरणअनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो । यसमध्ये ११५ पूर्वप्राथमिक तह, २८५ प्राथमिक तह, ३९५ माध्यमिक तह र ५५ उच्च तहका विद्यार्थी रहेका थिए ।