नर्वेका राजदूतसँग सिँचाइमन्त्री भुसालको शिष्टाचार भेटवार्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४९ पटक पढिएको
नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बीच शिष्टाचार भेट वार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटवार्तामा दुईबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको छ। नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको सिँचाइमन्त्री भुसालले स्मरण गरिन् ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने र त्यसले जनधनको क्षति बढाउँदै लगेको छ, त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।” उनले मनाङ, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमूना काम हुने समेत बताएकि छन् ।
नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने राजदूत ड्रम्डालले बताएका छन् । उनले जलविद्युतको क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै नौ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी समेत गराए । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो समेत व्यक्त गर्दै आएका थिए ।