लोकगायक विष्णु खत्री नगर समितिका उपाध्यक्षमा चयन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७१ पटक पढिएको

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) बाग्लुंग जिल्ला गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् ।

बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । माओवादी केन्द्रले गलकोट नगर समितिको अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसंगीत क्षेत्रको टेवा र उत्थानमा सधैँ क्रियाशील भएर लाग्ने उनले बताए । उनले पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको बताए । उनले कुनै पार्टीमा विचार आस्था जोडिइसकेपछि नेतृत्वमै रहेर काम गर्नु उचित ठानेको बताए ।

गलकोट-७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा खत्री माओवादी केन्द्रको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए ।

शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । लोकसङ्गीत क्षेत्रमा रुचाइएका गायक तथा सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् । उनले गीतमार्फत विकृति, विसङ्गति, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठाउँदै आएका छन् । ‘भरिया दाइ’,‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो कि सास चाहियो’ आदि उनका चर्चित गीत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित