बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने अमेरिकाको घोषणा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४७० पटक पढिएको

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको "उत्सव" मा योगदान नगर्ने बताएकी हुन् ।अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको बीबीसीले जनाएको छ। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।
यसैबीच चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने यसअघि बताएको छ । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक ‘कपटपूर्ण कार्य र राजनीतिक पहल’को सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ । बीबीसीबाट