मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २२३ पटक पढिएको
मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो। कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्यूटीसियन र मोटरसाइकल वर्कशपको एक÷एकमहिना तालिम प्रदान गरेको थियो । त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच÷पाँच दिनको तालिम सञ्चालन गरिएको थियो।

चालिस महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिनुभयो। गत आर्थिक वर्ष २०७९÷८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा नं ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो।

नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ। “सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ”, वाइबाले भन्नुभयो।

उहाँले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताउनुभयो। सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ। यस्तै नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ।

यसैगरी नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ। यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्याङ्कीसमेत वितरण गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित