अर्थतन्त्रको अवस्था भूकम्प र नाकाबन्दीभन्दा पनि नाजुक
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१७ पटक पढिएको
पूर्वअर्थमन्त्री रहेका नेकपा एमालेका महासचिव विष्णु प्रसाद पौडेलले नेपालको अर्थतन्त्रको अवस्था भूकम्प र नाकाबन्दीभन्दा पनि नाजुक भएको बताएका छन् । नेपाल लघुवित्त संघको दोस्रो वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा उपस्थित रहेका पौडेलले नेपालको अर्थतन्त्र निकै नाजुक अवस्थामा रहेको बताए ।
उनले भने, "कुनै पनि सूचक हेर्दा त्रासको अवस्था छ। आर्थिक दृष्टिकोणले नेपाल निकै अप्ठ्यारो अवस्थामा छ, अवस्था यति दयनीय छ कि नेपाललाई ऋण दिने खतरा छ।"
लघुवित्तमा अर्थतन्त्रका सबै क्षेत्रमा देखिएको नकारात्मक पक्षको प्रभाव देखिनु स्वभाविक भए पनि अर्थतन्त्र ध्वस्त हुन नदिन राष्ट्रिय छलफल र बलियो समझदारी आवश्यक रहेको उनले बताए । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा सरकारको नीतिले पनि लघुवित्तलाई असर गर्ने भएकाले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र लघुवित्तबीच सहकार्य हुनुपर्ने उनले बताए ।
उनले अर्थ मन्त्रालय, राष्ट्र बैंक र लघुवित्त एकअर्काका परिपूरक भएकाले समस्या समाधानका लागि सँगै बसेर छलफल गर्नुपर्ने बताए । उनले लघुवित्त सञ्चालकहरुको छाता संगठन नेपाल माइक्रोफाइनान्स एसोसिएसन, एमफानसँग समन्वय गर्न पनि सुझाव दिए ।