कोप-२६ सम्मेलन : नेपालको उच्च हिमाली अर्थतन्त्र जोखिममा रहेको चर्चा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४८० पटक पढिएको

 

बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन (कोप-२६)सुरू भएसँगै नेपालको मुस्ताङ र सोलुखुम्बुको बारेमा चर्चा भएको छ । आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले नेपालको उच्च हिमाली अर्थतन्त्र जोखिममा परेको बताएपछि चर्चा भएको हो । 

बेलायतमा निकै लोकप्रिय राजनीतिज्ञ मानिने शर्माले जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन र जैविक विविधतामा असर परिरहेको बताएका थिए । उनको यस भनाई पछि अन्य महादेशका जलवायु परिवर्तन विज्ञ, अध्येता, प्राध्यापक तथा सम्मेलनमा सहभागी सबैको ध्यान तानेको गोर्खापत्रले जनाएको  छ । उनि आफै मुस्ताङको जोमसोममा गएको बेला त्यहाँको जनजीवनले भोगेका पीडा प्रत्यक्ष देखेको उनको भनाई छ ।

यसै बीच ग्लास्गो पुगेकी नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हालै नेपालमा भएको अप्रत्यासित बाढी, पहिरो र डुवानको घटनाले विश्वका सबै राष्ट्रलाई सचेत गराएको बताएकी छिन् । बीबीसीसँग कुराकानी गर्दै राजदूत पोलिटले विश्वभरीका नेताहरु जम्मा हुने यो सम्मेलनमा नेपालमा भएका पछिल्लो प्राकृतिक विपतको घटनाबारे गम्भीर छलफल र बहस हुने बताएकी छिन् । 

उनले पाँच वर्षको दौरानमा नेपाललाई ३५ करोड पाउण्ड सहयोग गरेको बताउँदै नेपाललाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाएकी थिइन् । नेपालको हरित विकासका लागि विभिन्न दाताका तर्फबाट ४.२ अर्ब डलर सहयोग हुने प्रतिबद्धता व्यक्त भएको पनि उनको भनाई थियो ।

हिजो देखि सुरु भएको सम्मेलन  नोभेम्बर १२ सम्म चल्ने छ । सम्मेलनका लागि विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला भएका छन् । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यहाँ पुगिसकेका छन् । 

सम्मेलनमा नेपालले यस वर्ष पर्वतीय मुद्दा र यसमा परेको असरले जनजीविकामा पारेको क्षतिलाई सम्बोधन हुनु पर्ने माग राख्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। सम्मेलनमा सुदृड र दिगो वित्तीय व्यवस्थापनको सुनिश्चित गर्नुपर्नेमा ध्यानआर्किष्ट गर्ने प्रयास गर्ने जनाएको छ । सन् १९९४ देखि नेपालले समेत जलवायु परिर्वतन सम्बन्धीको मुद्दालाई नीतिगत रुपमै उठान गर्दै आएको छ । हाल नेपालमा तापक्रमको औसत वार्षिक बृद्धिदर ०.०५६ प्रतिशत रहेको र अझै बृद्धि हुँदै जाने मन्त्रालयले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित